तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान प्रभावकारी रूपमा सुरु

बाँके। बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान प्रभावकारी रूपमा सुरु भएको छ। नेपाल सरकारअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाको नेतृत्वमा “न्युट्रिसन फर लाइफ” परियोजनाअन्तर्गत यो अभियान जिल्लाभर विस्तार हुँदै गएको हो।

६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको अभियान बाँकेमा तीव्र गतिमा अघि बढाइएको छ। अभियानलाई प्रभावकारी बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ।

अभियानअन्तर्गत बालबालिका तथा आमाहरूको मिड–अपर आर्म सर्कम्फरेन्स (MUAC) मापन, उमेर, उचाइ/लम्बाइ तथा तौल परीक्षणमार्फत पोषण अवस्था मूल्यांकन गरिन्छ। स्क्रिनिङका क्रममा गम्भीर तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूलाई उपचार तथा आवश्यक पोषण सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ।

अभियानको सुरुआत खजुरा गाउँपालिका–२, गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट गरिएको हो। प्रारम्भिक परीक्षणमा पाँच वर्षमुनिका ६९ बालबालिकामध्ये पाँच जनामा मध्यम कुपोषण देखिएको छ भने सात गर्भवती महिलामध्ये दुई जना कुपोषित अवस्थामा भेटिएका छन्।

कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले परीक्षण सेवा प्रदान गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सहभागिता रहेको थियो। न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा रिफरल सेवामा सहजीकरण गर्नुभएको थियो।

यसैबीच राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर २, ६, ७ र ९ मा पनि अभियान विस्तार भइसकेको छ। स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा समुदायस्तरमै पोषण परीक्षण सेवा सञ्चालन भइरहेको छ।

अभियानले बालबालिका र आमाहरूमा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार तथा दीर्घकालीन रूपमा पोषण सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button