नेपाल कोरिया मैत्री अस्पतालमा न्युरो सर्जरी सेवालाई पूर्ण रुपमा सञ्चालन गर्ने तयारी
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निकट भविष्यमा न्युरो सर्जरी सेवालाई पूर्ण रुपमा सञ्चालन गर्ने तयारी गरेको छ ।
अरनिको राजमार्ग लगायत भित्री तथा अन्य सडकमा भइरहेको बढ्दो सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा सञ्चालन गर्ने भएको हो ।

अस्पतालको १८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख विजय कृष्ण श्रेष्ठले अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिब एक अर्ब २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पतालले १० बेड सहितको हेमोडाइलाइसिस सेवासमेत बिस्तार गर्न लागेको छ ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल प्रयत्नरत रहेको बताउँदै कार्यवाहक नगर प्रमुख विजय कृष्ण श्रेष्ठले अस्पताल आत्मनिर्भर बन्न सफल भएको बताउँदै थप सेवा बिस्तार गरी नगरवासीलाई सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले दुःख पिडामा आएका बिरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा दिनुपर्नेमा जोड दिँदै सेवा विस्तारसंगै गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा दिपेन्द्र कुमार रौशनले अस्पतालले रक्त सञ्चार सेवा २४ सै घण्टा बिस्तार गर्न लागेको बताउनुभयो । कोरियन सरकारको सहयोगमा निर्माणाधीन भवनलाई अत्यधिक सेवा सहितको उत्कष्ठ सेवा प्रदान गर्ने डा. रोशनको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका संस्थापक प्रमुख मदनकृष्ण श्रेष्ठ, कोइकाका प्रतिनिधि किम, अस्पताल सञ्चालक एवम् नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति सभापति हरिदाश प्रजापति, पूर्व नगर उप प्रमुख मुरारी आचार्य, निवर्तमान उप प्रमुख अन्जना मधिकर्मी, नगर प्रवक्ता कृष्णहरि आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
त्यस अवसरमा अस्पतालले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्