बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बागलुङ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
१६ देखि ५९ महिनाका १० हजार ९ सय ७९ बालबालिकाहरूलाई सम्पूर्ण खोप लगाएसँगै बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

बागलुङका १० वटा स्थानीय तहमा रहेको ५ वर्ष भित्रका बालबालिकाहरूलाई घरमा नै पुगेर खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।
जिल्लाका सबै बालबालिकालाई १३ वटा रोगहरू विरुद्धको सम्पूर्ण खोप लगाइएको उहाँको भनाई थियो । त्योसँगै १५ महिना सम्मका ३ हजार २ सय ७८ बच्चाहरूलाई समेत खोप लगाइएको उहाँले बताउनुभयो ।
सबैभन्दा बढी बागलुङ नगरपालिकाका २ हजार २ र सबैभन्दा कम बरेङ गाउँपालिकाका ३ सय २३ वटा बालबालिकाले पूर्ण खोप लगाएका छन् । अहिले बागलुङका २ सय ५ वटा खोप केन्द्रबाट प्रत्येक महिना २ सय १५ खोप सेसन सञ्चालन गरी निरन्तर रुपमा सेवा प्रदान गरिँदै आएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बालबालिकाको स्वास्थ्यलाई बलियो बनाउने आधार खोप भएको बताउनुभयो ।
यसबाट रोग प्रतिरोधात्मक शक्ति क्षेत्रमा सबैभन्दा शक्तिशाली खोप सेवाको समय सापेक्ष नीतिगत सुधार, सेवा विस्तार तथा सहज उपलब्धता, मानवीय तथा संस्थागत संरचनामा भएको स्तरोउन्नती, समुदायको उपभोगको कारण आमा तथा बालबालिकाको मृत्युदर र अपाङ्गतामा उल्लेखनीय सुधार आएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्