तपाईँ सुन्दै हुनुहुन्छः

थापाथली र गैरीगाउँका सुकुम्बासी बस्ती खाली

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक, सरकारी जमिनका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ ।

सरकारले सार्वजनिक सूचना जारी गरी अनधिकृत बस्तीहरू खाली गर्न सुरु गरेको अभियानमा आज काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित थापाथली र वडा नम्बर ९ स्थित गैरीगाउँमा रहेको बस्ती खाली गरिएको छ । 

यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गने क्रम जारी रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी गरेको जनाइएको छ ।

यसरी बस्ती खाली गर्नेहरू मध्ये हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ घरपरिवार सरकारको सम्पर्कमा आएका र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको जानकारी गराइएको छ ।

सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटेलहरूमा राखिने बताइएको छ ।

यसैगरी सरकारले बस्ती खाली गरेका परिवारमध्ये वास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले प्रत्यक्ष सहयोग पुर्‍याइरहेका छन् । 

वि.स. २०७९ सालमा बागमती सभ्यता एकीकृत विकास समितिले तयार गरेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । 

जसमध्ये काठमाडौँ महानगरभित्र २ हजार २ सय ४५, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button