रास्वपा संसदीय दलको निर्णय: १० विषयगत र २ संयुक्त समितिका सभापति चयन
काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुङ्गो लगाएको छ ।
आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले समितिका सभापतिको नाम टुङ्गो लगाएको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरू मध्ये कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक कुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीको नाम टुङ्गो लगाएको छ ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजश्वी शेरचन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्नीमा उदास र अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकीको नाम टुङ्गो लगाएको हो ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिने निर्णय गरेको छ ।
यसैगरी राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समितिहरू मध्ये संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्की रहने गरी नाम टुङ्गो लगाएको छ ।
संसदीय समितिमा रहने सदस्यहरू यसअघि नै टुङ्गो लागिसकेको छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समिति यसअघि नै गठन भइसकेका छन् ।







प्रतिक्रिया राख्नुहोस्