नाङ्लोमा चिया, कथामा इलाम: गृष्मको अनौठो शैली
इलाम। इलाम पुग्ने जो–कोहीका लागि यात्रा केवल गन्तव्यसम्म पुग्ने कुरा मात्र होइन, त्यो अनुभव, स्वाद र सम्झनासँग जोडिएको हुन्छ। यही अनुभवलाई अझ गहिरो बनाउने व्यक्ति हुन् गृष्म सुब्बा। पूर्वेली ट्याक्सी व्यवसायीका रूपमा चिनिएका गृष्म आज इलामको चिया पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

उहाँलाई भेट्ने धेरैजसो पर्यटक साधारण यात्रु भएर फर्किँदैनन्—चियाको पारखी बनेर फर्किन्छन्। गृष्मको आफ्नै शैली छ, उनी कसैलाई पनि चिया नखुवाई पठाउँदैनन्। “इलाम आयो भने चिया त खानै पर्छ,” भन्ने उहाँको बानीले नै उनलाई फरक पहिचान दिएको छ।

गृष्म सुब्बा जस्बीरे चिया उद्योगसँग नजिकबाट जोडिएका छन्। सूर्य बहादुर सुब्बाले सुरु गरेको चिया यात्रालाई अहिलेको पुस्तासम्म पुर्याउने काममा गृष्म सक्रिय छन्। उहाँका भाइ सरद सुब्बा उद्योग सञ्चालन र उत्पादनमा केन्द्रित छन् भने गृष्म चियालाई मानिससम्म अनुभवका रूपमा पुर्याउने काममा लागेका छन्।
इलाम सदरमुकामभन्दा केही पर बिब्ल्याटेमा उहाँले चिया टेस्टिङ गर्ने स्थान सञ्चालन गर्नुभएकाे छ। त्यहाँ पुग्ने पर्यटकले जस्बीरे चियाको वास्तविक स्वाद चख्ने अवसर पाउँछन्। परम्परागत नेपाली नाङ्लोमा विभिन्न किसिमका चियाहरू आकर्षक रूपमा राखिन्छन् र गृष्म आफैँ ती चियाको विशेषता, गुणस्तर र बनाउने तरिकाबारे विस्तारमा बुझाउँछन्। त्यहाँ चिया केवल पिउने वस्तु नभई बुझ्ने र अनुभव गर्ने विषय बन्छ।

त्यसपछि उहाँ आफ्नै ल्यान्डरोभर गाडीमा पर्यटकलाई करिब १० किलोमिटर टाढा रहेको जस्बीरे बगान र उद्योगसम्म लैजान्छन्। त्यहाँ पुगेपछि चिया रोपाइँदेखि टिपाइ, प्रशोधन र उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया प्रत्यक्ष देख्न पाइन्छ। किसानको मेहनत, श्रमिकको जीवनशैली र चियाको यात्रा नजिकबाट बुझ्ने अवसर पर्यटकले पाउँछन्। कतिपयले आफैँ चिया टिप्ने र बनाउने अभ्याससमेत गरेर फर्किन्छन्।
जस्बीरे चिया उद्योग तीन पुस्ताको समर्पण र अनुसन्धानबाट स्थापित भएको हो। यहाँ अहिले २३–२४ प्रकारका चिया उत्पादन हुँदै अमेरिका, जापान, फ्रान्स, जर्मनी लगायत देशमा निर्यात भइरहेको छ। सयौँ किसान यससँग आबद्ध छन् र उद्योगले धेरैलाई रोजगारी प्रदान गरेको छ। यही सफलताको कथा गृष्म सुब्बाले हरेक पर्यटकलाई चियासँगै सुनाउने गर्छन्।

चियाबारे गहिरो ज्ञान राख्ने गृष्म सुब्बा भन्नुहुन्छ “इलामको चिया हाम्रो लागि केवल उत्पादन होइन, यो हाम्रो पहिचान हो। यहाँको माटो, हावा र मेहनतले बनेको चियाको स्वाद विश्वमै फरक छ। हामीले यसलाई केवल बेच्ने होइन, अनुभवका रूपमा चिनाउनुपर्छ भन्ने सोच छ। त्यसैले म भेट्ने हरेक पाहुनालाई चिया चखाउँछु, बगानसम्म लैजान्छु र चियाको यात्रा देखाउँछु। जब पर्यटकले आफैँ यो प्रक्रिया देख्छन्, तब मात्र उनीहरूले इलामको चियाको वास्तविक मूल्य बुझ्छन्। चियामार्फत इलामलाई विश्वमा चिनाउनु नै हाम्रो उद्देश्य हो।”
यसरी गृष्म सुब्बा आज केवल ट्याक्सी व्यवसायी मात्र नभई, जस्बीरे चियाको स्वाद र कथा संसारसम्म पुर्याउने माध्यम बनेका छन्। उनले चियामार्फत मानिसलाई जोड्ने, सिकाउने र अनुभव दिलाउने काम गरिरहेका छन्—जहाँ हरेक कप चियामा इलामको माटो, मेहनत र पहिचान मिसिएको हुन्छ।








प्रतिक्रिया राख्नुहोस्