शिक्षा प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी विश्वविद्यालयले आफ्नो प्रथम ऐतिहासिक दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय परिसरमा आयोजित उक्त समारोहमा विभिन्न संकायका गरी ४४ जना विद्यार्थी दीक्षित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउँदै व्यवहारिक, प्रविधिमैत्री र उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आजको विश्व प्रतिस्पर्धात्मक बन्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई सीप, दक्षता, नवप्रवर्तन र उद्यमशीलताको बाटोमा अग्रसर हुन आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्याउन सक्ने बताउनुभयो ।
शिक्षाविद् केदार भक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयहरूलाई पाठ्यक्रममा समेट्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई केवल जानकारी नभई सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले शैक्षिक उत्कृष्टताको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै गण्डकी विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयसँग ५२६ रोपनी क्षेत्रफलमा फैलिएको पूर्वाधार रहेको छ भने हाल दुई सङ्कायअन्तर्गत पाँच वटा स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा रहेका छन् । १३ भन्दा बढी पाठ्यक्रम तयार भइसकेका छन् र ५३ जिल्लाबाट ७९५ विद्यार्थी अध्ययनरत छन् ।
न्यायिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब भौतिक संरचना निर्माणबाट अघि बढ्दै गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उपकुलपति कृष्णराज अधिकारीले दीक्षान्त समारोहमा प्रदान गरिएका पदक तथा उपलब्धिहरूबारे जानकारी दिनुभयो । स्नातक तहमा सबैभन्दा उच्च सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गर्नुभएको छ भने मलिन कुमार रोका र क्याटरीना बस्नेतले उपकुलपति पदक प्राप्त गर्नुभएको छ ।
समारोहमा खेलकुद व्यवस्थापनतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ जना र औषधि विज्ञानतर्फ १५ जना गरी कुल ४४ जना विद्यार्थी दीक्षित भएका थिए । समारोहमा विद्यार्थी, अभिभावक, प्राध्यापक, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्