राष्ट्रियसभा बैठक: अख्तियारको वार्षिक प्रतिवेदन पेससँगै साइबर सुरक्षामा जोड
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।
यस अघि बैठकमा सांसदहरूले संसदभित्र महत्वपूर्ण राष्ट्रिय तथा राजनीतिक मुद्दाहरूमा विपक्षीहरूसँग सहकार्यको संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै सकारात्मक नीतिको निरन्तरतामा जोड दिनुभयो ।
कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग मार्फत बढ्दै गएको साइबर बुलिङ र डिजिटल हिंसाका कारण महिला र किशोरीहरूमाथि भएको मानसिक, शारीरिक तथा सामाजिक यातना रोक्न साइबर सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा सांसदहरूले युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानमैत्री नीति निर्माण, भ्रष्टाचार र महँगी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, कर्णाली प्रदेशको विकासमा विशेष ध्यान दिनुपर्ने लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते शुक्रवार अपराह्न ४ः१५ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्