तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल प्रादेशिक प्रसारण पोखराको ७६ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

पोखरा I रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराले ७६ औँ वार्षिकोत्सव विशेष सप्ताहव्यापी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त अवसरमा प्रमुख अतिथि रेडियो नेपालका पूर्व उप–निर्देशक बद्रीनाथ भण्डारीले कार्यक्रम उद्घाटन गर्दै संस्थाले विगतका दिनमा धेरै आरोह–अवरोह पार गर्दै प्रगति गरेको बताउनुभयो । उहाँले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयले वार्षिकोत्सवको अवसरमा विशेष सप्ताहव्यापी कार्यक्रम गर्दै आएका कारण आफू खुशी रहेको बताउनुभयो । साथै, वर्तमान अवस्थामा रेडियोको दायरा फराकिलो र व्यापक बनेको हुँदा यसको विकासमा सबै कर्मचारी तथा पत्रकारले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख शान्ति गुरुङले प्रारम्भिक अवस्था र विगतका तिस वर्षमा प्रादेशिक कार्यालयले गरेको योगदानलाई स्मरण गर्दै, कार्यालयलाई प्रविधिमैत्री बनाउँदै गण्डकी प्रदेशका नागरिकसम्म सञ्चार पहुँच पुर्‍याउन प्रयास गरिरहेको जानकारी दिनुभयो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमजस्ता गतिविधिहरू समेत सञ्चालन भएको र सप्ताहव्यापी कार्यक्रममा सबै सहभागीहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

सो अवसरमा दाउन्ने स्टेसनका प्रमुख ऋषिकेश बस्ताकोटी र वरिष्ठ समाचार सम्पादक खेम सारुले पूर्व र वर्तमान साथीहरूको सहभागिताले नै संस्थाको विकास सम्भव भएको धारणा व्यक्त गर्दै, सबैलाई संस्थाको हितमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम अधिकृत शान्ति राणाले गर्नु भएको थियो ।

वार्षिकोत्सव सप्ताहभरिको कार्यक्रमहरूमा विभिन्न प्रतियोगिता, खेलकुद, रक्तदान, वक्तृत्वकला, कुर्ची दौड, ब्याडमिन्टन, रिभर्स काउन्टिङ लगायतका गतिविधिहरू समावेश थिए। यी प्रतियोगितामा सहभागी कर्मचारी, पत्रकार र प्राविधिकहरूलाई प्रमुख अतिथिले मायाको चिनो तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभएकाे  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button