बुढीगंगा गाउँपालिकाले बुढीगंगा गोल्डकप–२०८२ आयोजना गर्दै
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम गोल्डकप–२०८२ आयोजना गर्ने भएको छ । आगामी चैत २१ देखि २७ गते सम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा आयोजना हुने गोल्डकप पालिकाले आयोजना गर्दै आएको अहिले सम्मकै सबैभन्दा ठुलो र सर्वाधिक राशिको फुटबल प्रतियोगिता हो ।

गाउँपालिकाले आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिका, सलहेस फुटबल क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, धरान फुटबल क्लब सुनसरी, चाल्सा फुटबल क्लब झापा, आएफसी काठमाण्डौं, नाईजेरिजयन फुटबल क्लब र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतको सहभागिता रहने गोल्डकप प्रतियोगिताका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल आरएफसी काठमाण्डौं र सहलेस सिराहाबिच हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका विजेता टिमले ५ लाख, उपविजेताले २ लाख ५० हजारसहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिइने संयोजक चौधरीले बताउनुभयो ।
गोल्डकप आयोजनामा करिब ३९ लाख खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले १२ लाख विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले सो अवसरमा जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्