तपाईँ सुन्दै हुनुहुन्छः

ग्रासरुट तहबाटै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदको दीर्घकालीन विकासका लागि ग्रासरुट तहबाटै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । 

मङ्गलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा आयोजित स्वागत कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रलाई आधारभूत तहसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले खेल क्षेत्रमा चुनौतीसँगै धेरै अवसर पनि रहेको उल्लेख गर्दै केवल कुरा गर्नेभन्दा काम गरेर देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । खेलकुदसँग सम्बन्धित सबैको क्षमता र अनुभवलाई सम्मान गर्दै त्यसलाई खेलकुदको दीर्घकालीन विकासका लागि उपयोग गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

सो अवसरमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले परिषद्को बोर्डको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधार, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन–२०२६ अन्तर्गत सञ्चालन भइरहेको विशेष प्रशिक्षण, आन्तरिक स्रोत तथा ऐन संशोधनलगायत विषयमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

स्वागत कार्यक्रमपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाई पर्फमेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button