तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छ : मन्त्री डा‍‍.तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

हुलाक सेवा विभागको कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वका तीन नयाँ हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा विभागको स्वीकृत ‘फिलाटेलिक कार्यक्रम’अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइएको हो ।

त्यस अवसरमा मन्त्री डा.तिमिल्सिनाले मुलुकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्‍याउन सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा.तिमिल्सिनाले सरकारको सय बुँदे मार्गचित्रअनुरूप नयाँ ढङ्गले कामको गति बढाउने गरी कार्ययोजना पेस गर्न विभागलाई निर्देशन दिनुभयो । उहाँले जनतामा आशा जगाउने गरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री डा.तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्ष प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ गतिका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्न सघाउ पुग्ने बताउनुभयो ।

विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले टिकटले अन्तर्राष्ट्रिय जगत्मा महत्त्वपूर्ण योगदानका गर्ने बताउनुभयो । उहाँले हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताउनुभयो ।

सोही अवसरमा सञ्चार मन्त्री डा.तिमिल्सिनालाई विभागको तर्फबाट स्वागत गर्नुका साथै विभागको कामकारबाहीबारे जानकारी गराइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button