तपाईँ सुन्दै हुनुहुन्छः

कानून बाधक भए संशोधन गर्नुपर्छ तर कसैले कानून हातमा लिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक भए संशोधन गर्नुपर्ने तर कानुन हातमा लिने काम कसैले गर्न नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले कानून बाधक भए संशोधन गर्नुपर्ने तर कानुन हातमा लिने काम कसैले गर्न नहुने बताउनु भएको हो । 

हाल देशको राजनीति परिस्थिति परिवर्तन भएको बताउँदै उहाँले कानून र संविधान भने संशोधन नभएकोले हालको सङ्घीय सरकार एउटा दलको नेतृत्वमा बलियो हुँदा यसमा पत्रकार झन् बढी जिम्मेवारी हुनु पर्ने आवश्यक रहेको बताउनु भयो । यदि यस्तो अवस्थामा पत्रकारिता कमजोर भयो भने सत्ता निरङ्कुश बन्न सक्ने उहाँले चेतावनी दिनुभयो । मुख्यमन्त्री पाण्डेले पनि यही कुरा औँल्याउँदै भन्नुभयो “अहिले सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको अवस्थामा पत्रकारले “वाचडग” को भूमिका निर्वाह गर्न अझै सक्रिय हुनुपर्छ ।”मुख्यमन्त्री पाण्डेले न्यायपालिका, पत्रकारिता र नागरिक समाजले आफ्नो संयमता गुमाए भने स्वतन्त्रता र न्याय दुवै जोखिममा पर्न सक्ने दाबी गर्नुभयो । 

अग्रज पत्रकार राजबहादुर गुरुङलाई पोखरा पत्रकारिता सम्मान २०८१ प्रदान गरिएको छ भने संस्थागततर्फ सहारा क्लब, पोखरालाई सम्मान गरिएको छ । त्यसै गरी स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट फणिन्द्र अधिकारी (अकिञ्चन) – २०८१ र एकराज गिरी – २०८२ बाट पुरस्कृत गरिएको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध हुनुहुन्छ । सम्मान राशि नगद रु.५० हजार ५ सय ५५ , दोसल्ला र सम्मानपत्र रहेको छ । सम्मान छनौट समितिमा अग्रज पत्रकार कुसुम केशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहनु भएको थियो । 

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहित पत्रकार रुद्र श्रीस मगर र भिम थापाको पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्युजमा आवद्ध हुनुहुन्छ । महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । महासङ्घले बर्षेनी ८ वटा पुरस्कार तथा सम्मान अर्पण गर्दै आएको सचिव भुपाल गुरुङले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button