मधेश प्रदेशका ८ वटै जिल्लामा एमालेद्वारा ओली र लेखक पक्राउको विरोधमा ज्ञापन पत्र

वीरगञ्ज । नेकपा एमाले पर्सा सहित मधेश प्रदेशका ८ वटै जिल्ला कमिटी हरुले आज पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष शर्माले ओली र लेखकलाई सुर्यदय अगाडिनै प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
शर्माले सरकारको कामलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रही’ भएको आरोप लगाउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओविसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमाले पर्साले ज्ञापन पत्र बुझाउनु अघि वीरगंजमा मोटरसाइकल र्याली समेत निकालेको थियो ।
त्यसैगरी नेकपा एमाले बाराका स्थानीय नेता तथा कार्यकर्ताहरूले आज पार्टी अध्यक्ष केपी शर्मा ओली को तत्काल रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र मार्फत एमाले बाराले ओलीमाथि लागेको मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा देखाउँदै सरकारले तत्काल उहाँलाई रिहा गर्नुपर्ने आवाज उठाएको छ । पार्टीका प्रतिनिधिहरूले जनताको आशङ्का र लोकतान्त्रिक अधिकारको रक्षा गर्ने माग समेत गरेको छ ।
नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले पर्सा सहित मधेश प्रदेशका ८ वटै जिल्ला कमिटी हरुले आज पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री लेखकको पक्राउको विरोधमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
स्थानीय प्रशासनले समेत ज्ञापनपत्र प्राप्त गरेको पुष्टि गरेको छ र आवश्यक प्रक्रियाअनुसार सम्बन्धित निकायमा यसबारे जानकारी पुर्याइने जनाएको छ । ज्ञापनपत्र बुझाउने क्रममा एमाले कार्यकर्ताहरूले नाराबाजीसमेत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्