तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा रौतहटमा पनि प्रदर्शन

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा रौतहटमा पनि प्रदर्शन गरिएको छ ।

जिल्लाको सदरमुकाम गौरमा एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति आपत्ति जनाएका हुन् ।

प्रदर्शनपछि जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै ओलीको गिरफ्तारीलाई गैरकानुनी भएको दाबी गर्दै विनाशर्त रिहाइको माग गरिएको छ । नेकपा एमाले रौतहटका जिल्ला सचिव बाबुराम दाहालले ओलीको गिरफ्तारी कानुनी रूपमा पुष्टि हुन नसक्ने उल्लेख गर्दै तत्काल रिहा गर्नुपर्ने माग गर्नुभयो ।

दाहालले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि समेत प्रश्न उठाउँदै सर्वोच्च अदालतले समेत त्यसप्रति असन्तुष्टि जनाइसकेको बताउनुभयो । उहाँका अनुसार उक्त प्रतिवेदन न्यायिक सिद्धान्तको विपरीत रहेको र त्यसकै आधारमा गरिएको गिरफ्तारी उचित नहुने धारणा व्यक्त गर्नुभयो ।

विरोध कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू अजय कुमार गुप्ता, आरती भण्डारी, कुन्दन कुशवाहा तथा उपेन्द्र साहलगायत जिल्लाका पदाधिकारी र सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। एमालेले आगामी दिनमा पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button