तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

रौतहट । घरेलु हिंसाबाट पीडित एक महिलालाई न्यायिक प्रक्रिया सहज बनाउन इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

फतुवा विजयपुर नगरपालिका–६ की २८ वर्षीया ती महिलालाई अदालतसम्म पुग्न तथा मुद्दा लड्न आर्थिक समस्या भएपछि इन्सेकले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ ।

पीडितले आफ्नै श्रीमान् ३० वर्षीय उमाशंकर कुशवाहविरुद्ध ज्यान मार्ने उद्देश्यले कुटपिट तथा वैवाहिक बलात्कारको आरोप लगाउँदै गत असोज ५ गते जिल्ला अदालत गौर मा मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।

न्यायिक प्रक्रियामा सहभागी हुन पटक–पटक अदालत धाउनुपर्ने भए पनि आर्थिक अभावका कारण समस्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख दीपिका ओझाको सिफारिसमा इन्सेक रौतहटमा निवेदन परेको थियो ।

सोही निवेदनका आधारमा इन्सेक मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गरिएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण कुनै पनि पीडित न्यायबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यस्ता सहयोग प्रदान गर्दै आएको इन्सेक रौतहटकी प्रतिनिधि गौरी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button