नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिँदै
धनकुटा । नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको तथ्याङ्क पाइएको छ ।
धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपालमा वार्षिक करिब ६७ हजार बिरामी थपिने गरेको जानकारी दिइएको हो ।

तीमध्ये ३९ हजार १ सय ५१ जनामा मात्रै रोग पत्ता लाग्ने गरेको २७ हजार ८ सय ४९ जना उपचार बाहिर रहने गरेको पाइएको हो । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको उक्त तथ्याङ्क अनुसार नेपाल वार्षिक १६ हजार जनाको क्षयरोगका कारणले मृत्यु हुने गरेको पाइएको छ ।
प्रदेशगत रूपमा मधेस र बागमतीमा सबैभन्दा धेरै बिरामी छन् । देशभर डटस केन्द्रहरूको संख्या छ हजारभन्दा बढी पुगेको छ भने आधुनिक परीक्षण प्रविधिको प्रयोग पनि विस्तार भइरहेको छ । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोधात्मक क्षमता कम भएका रोगीलाई छिटो हुने गर्छ । धनकुटामा हाल ६८ जना क्षयरोगको बिरामी रहेको कार्यक्रममा जानकारी दिइयो ।
नेपाल सरकारले वि.स . २०९१÷९२ मा नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । जर्मन चिकित्सक रबर्ट कुकले सन् १९८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टिबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । यसपटक ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नारा सहित दिवस मनाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्