सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने लक्ष्य : सचिव देवकोटा
भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्रले विश्व क्षयरोग दिवसको अवसरमा विशेष समारोहको आयोजना गरेको छ ।
नयाँ ठिमीस्थित कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य सरकारले लिएको बताउनुभयो ।

स्वास्थ्य सचिव डा.देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताउनुभयो ।
उहाँले उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गर्नुभयो ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक केशवराज पण्डितले क्षयरोग नियन्त्रणका लागि यसमा राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्दै तीनै तहका सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका निर्देशक डा. भुवन पौडेलले क्षयरोगी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै घरघरमै पुग्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा तेस्रो पटक सार्क स्तरीय क्षयरोग तथा एचआईभी एड्स सम्बन्धी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।
राष्ट्रिय क्षयरोग केन्द्रका छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका सक्रिय जनसङ्ख्यामा बढी संक्रमण दर देखिएको छ ।
कार्यक्रममा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रका पूर्व निर्देशक डा.प्रज्वल श्रेष्ठ लगायत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
केन्द्रको तथ्याङ्क अनुसार नेपालमा वार्षिक ६७ हजार जनामा क्षयरोग संक्रमण हुने गरेको छ ।
नेपालमा कुल क्षयरोगीमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा भेटिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।
आज मार्च २४ का दिन विश्व क्षयरोग दिवस नेपाल सरकारले ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्