गायिका मेनुका राईको मार्मिक गीत ‘आउँछु आउँछु भन्दै’ सार्वजनिक

धनकुटा I गायिका मेनुका राईको “आउँछु आउँछु भन्दै मलाई ढाँटेरै पो गयौ” बोलको गीतलाई हालै मात्र सार्वजनिक गरिएको छ ।
ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसन यु के द्वारा आयोजित गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि गायक तथा सङ्गीतकार तथा प्राज्ञ शान्तिराम राईले उक्त नयाँ गीतको अडियो प्ले गरेर विमोचन गर्नुभएको हो ।
गीतको विमोचन गर्दै प्राज्ञ राईले गायिका मेनुका राईको गीतले न्याय गरेको बताउनुहुँदै उहाँको सुमधुर स्वरले एक दिन सङ्गीतको दुनियाँमा नयाँ इतिहास कोर्ने दिन चाडै आउने कुरामा दुई मत नभएको विश्वास व्यक्त गर्नु भएको थियो ।
गायक तथा सङ्गीतकार शिवसंगम राईद्वारा सङ्गीतबद्ध गरिएको उक्त गीतको शब्द गीतकार कुमार केरुङ“रायन किङ”ले लेख्नु भएको छ। धेरै प्रेम गरेको मायालुले जब आफु मृत्युशैय्या पुगेको बेला, नफर्किने गरि छाडेर गएको यादमा यी मार्मिक शब्दहरू प्रस्फुटन भएको गीतकार रायन किङ बताउनुहुन्छ।
उक्त गीतको सङ्गीत संयोजन (एरेन्ज) सुन्दर लामाले गर्नुभएकाे हाे भने त्तिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङको काम समेत सुन्दर बनेको छ । अडियोको रुपमा ल्याइएको उक्त गीतको भिडियो निर्माणको लागि पूर्व तयारी गरिरहेको समेत गीतकार कुमार केरुङले बताउनुभयो भने उक्त गीतलाई मेनुका राई युट्युब च्यानलमार्फत सुन्न सकिने समेत गीतकार केरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्