तपाईँ सुन्दै हुनुहुन्छः

हुड्केली र पञ्चेबाजा संरक्षणमा बाजुराका स्थानीय तह

बाजुरा । सुदूरपश्चिमका पहाडी जिल्लाको मौलिक पहिचान बोकेको हुड्केली नाच र पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि बाजुराका स्थानीय तह संरक्षणमा जुटेका छन्। आधुनिक जीवनशैली, पश्चिमी संस्कृतिको प्रभाव, युवा पुस्ताको घट्दो रुचि तथा परम्परागत कला–सीपबाट जीविकोपार्जन गर्न कठिन भएपछि मौलिक संस्कृति सङ्कटमा पर्न थालेको हो।

बाजुराको मार्तडीका हुड्के कलाकार जब्बरे सनाइका अनुसार करिब डेढ दशकअघिसम्म गाउँ–गाउँमा हुने विवाह, व्रतबन्ध तथा अन्य शुभ कार्यमा हुड्केली नाच अनिवार्यजस्तै थियो। तर पछिल्लो समय यस्ता अवसरमा हुड्केली नाच देखिन छाड्दै गएको उहाँको भनाइ छ।

“पहिले गाउँमा हुने हरेक शुभ कार्यमा हुड्केली नाच हुन्थ्यो। अहिले भने फाटफुट बाहेक हुड्केली नाच देख्नै मुस्किल भएको छ,” सनाइले भन्नुभयो। उहाँका अनुसार आधुनिकताको प्रभावसँगै नयाँ पुस्ताले मौलिक कला र संस्कृतिप्रति चासो कम दिँदा हुड्केली कलाकारको संख्या समेत घट्दै गएको छ।

हुड्केली नाचसँगै पञ्चेबाजाको अवस्था पनि उस्तै छ। दमाहा, झ्याली, नरसिङ्गा लगायतका परम्परागत बाजा बजाउने कलाकारले आफ्नो सीपबाट नियमित आम्दानी गर्न नसक्दा नयाँ पुस्ता यो पेशातर्फ आकर्षित हुन सकेको छैन। जसका कारण पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सीप हराउने जोखिम बढेको छ।

यही चुनौतीलाई मध्यनजर गर्दै बाजुराका स्थानीय तहले भने हुड्केली र पञ्चेबाजालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियान अघि बढाएका छन्। जिल्लाका नौवटै स्थानीय तहले स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।

जगन्नाथ, खप्तड छेडेदह, गौमुल र स्वामीकार्तिक खापर गाउँपालिकासहित बडिमालिका, त्रिवेणी, बुढीनन्दा र बुढीगंगा नगरपालिकाले हुड्केली तथा पञ्चेबाजा संरक्षणका लागि बजेट तथा कार्यक्रम सञ्चालन गरेका छन्।

स्थानीय तहहरूले पालिकाभित्र रहेका हुड्केली तथा पञ्चेबाजा बादक कलाकारलाई परम्परागत पहिरन झल्किने दौरा–सुरुवालका सेट तथा दमाहा, झ्याली लगायतका वाद्यवादन सामग्री समेत वितरण गरेका छन्। यसबाट कलाकारलाई प्रोत्साहन हुनुका साथै लोप हुँदै गएको परम्परागत कला संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button