तपाईँ सुन्दै हुनुहुन्छः

पदमार्ग निर्माणसँगै पर्यटकीय गन्तव्यको रूपमा उदाउँदै कालाजाग्रा

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ मा अवस्थित कालाजाग्रा पछिल्लो समय पदमार्ग निर्माणसँगै पर्यटकीय गन्तव्यको रूपमा उदीयमान हुँदै गएको छ। प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तान्न थालेको हो।

समुद्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको कालाजाग्रा हिमाली दृश्यावलोकनका लागि उपयुक्त स्थल मानिन्छ। यहाँ अवस्थित मन्दिर, चट्टानभित्रको अनौठो ताल तथा आसपासका प्राकृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। यस स्थानबाट हुम्ला, मुगु, जुम्ला, कालिकोट र बझाङका हिमशृङखलासहित बाजुराको करिब आधा भूभाग अवलोकन गर्न सकिने स्थानीय धनबहादुर रोकायाले बताउनुभयो।

हाल कालाजाग्रामा पदमार्ग निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। बुढिनन्दा नगरपालिकाको समन्वयमा संघ र प्रदेश सरकारको दुई करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको उक्त पदमार्गले पर्यटकको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। पदमार्ग निर्माण सम्पन्न भएपछि कालाजाग्रामा पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने विश्वास लिइएको बुढिनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले बताउनुभयो।

यसअघि नै स्थानीय तह र प्रदेश सरकारको समन्वयमा मन्दिर निर्माण तथा केही आधारभूत पूर्वाधार विकास गरिसकिएको छ। पैदलमार्ग विस्तारसँगै कालाजाग्राको पर्यटन सम्भावना अझ उजागर हुने देखिएको छ। बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार कालाजाग्राको व्यवस्थित विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना, आय वृद्धि तथा क्षेत्रीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण टेवा पुग्नेछ। पछिल्लो समय कालाजाग्रा तेस्रो हिमाली पर्यटकीय स्थलका रूपमा समेत परिचित हुँदै गएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button