पाथीभरा क्षेत्रमा हिमपात हुँदा तीर्थयात्रीलाई समस्या
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएसँगै तीर्थयात्रीलाई दर्शनका लागि समस्या भएको छ । शनिवार दिउँसोसम्म पनि वर्षासँगै हिमपात जारी रहेपछि दर्शनका लागि पुगेका तीर्थयात्री समस्यामा परेका हुन् ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा पुगेका तीर्थयात्रीलाई बिहान चार लाइन बनाएर दर्शन गराइएको भए पनि चाप कम भएसँगै दुई लाई बनाएर दर्शन गर्न सहज बनाइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा यो वर्ष आठ पटक हिमपात भए पनि यो पटक बाक्लो हिमपात भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो ।
चैते दसैँको नौरथा लागेसँगै दर्शनका लागि अधिक मात्रमा तीर्थयात्रीहरू पाथीभरा पुग्ने गरेका छन् । दर्शनमा आएका वृद्धवृद्धा र अशक्तलाई सहयोगका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक वेदप्रकाश गौतमले जानकारी दिनुभयो ।
ताप्लेजुङका उच्च हिमाली क्षेत्र घुन्सा, फले, ओलाङ्चुङगोला, ग्याब्ला, तोक्पेगोला क्षेत्र, मिल्के जलजले क्षेत्र साथै तिम्बुङ पोखरी क्षेत्र लगायतमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्