रेडियो नेपाललाई समयानुकूल रूपान्तरण गर्न सचिव बस्नेतको आग्रह

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सापेक्ष सूचना क्रान्तिले ल्याएको नवीनतम प्रविधिहरूको उपयोग गर्नेतर्फ अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ ।
आज रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र नेपाल टेलिभिजन कर्णाली ब्युरो कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा सचिव बस्नेतले रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले रेडियो नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहाससँगै जनताको जीवनसँग जोडिएको यो संस्था भएकाले निजी क्षेत्रका सञ्चार माध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्न आवश्यक रहेको औँल्याउनुभयो ।
सचिव बस्नेतले आर्थिक रूपमा सबल र सक्षम बनाउन रेडियो नेपालसँग भएको जग्गाको समेत अधिकतम उपयोगी बनाउनेतर्फ समेत सोच्न आवश्यक रहेको बताउनुभयो ।

उक्त अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख विजय बर्माले समय सापेक्ष प्रादेशिक प्रसारण केन्द्रसँगै एफएम रिले स्टेसनहरूको स्तरोन्नति गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।
उहाँले प्रादेशिक प्रसारण केन्द्रका पुराना भवन तथा आवासहरूको मर्मत सम्भारसँगै चार पाङ्ग्रे सवारी खरिद गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । भौतिक रूपमा रेडियो नेपालसँग पर्याप्त जग्गा रहे पनि कानुनी अड्चनले उपयोगी बनाउन नसकिएको समेत उहाँले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्