तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक महिला लिगमा सङ्कटाको विजयी सुरुवात

काठमाडौँ । सहिद स्मारक महिला लिगमा सङ्कटाले उत्कृष्ट सुरुवात गरेको छ । च्यासल मैदानमा भएको उद्घाटन खेलमा सङ्कटाले न्यु रोड टिम (एनआरटी) लाई ४–० ले माथ दियो ।

सङ्कटाको जितमा विदेशी खेलाडीको प्रदर्शन अब्बल रह्यो । खेलको २८ मिनेटभित्र सङ्कटाले ३ गोल गर्‍यो । पाँचौँ मिनेटमा विन थेङ्गी टुनले गोलको खाता खोलिन् । उनी म्यानमार राष्ट्रिय महिला टोलीकी कप्तान हुन् ।

खेलको २६ औँ मिनेटमा लुसिया लेइला जोस मिकाम्बिकले सङ्कटाको अग्रता दुगुना गरिन् । २८ औँ मिनेटमा शुक्रिया मियाँले गोल गर्दा सङ्कटाले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

एनआरटी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ५२ औँ मिनेटमा क्विनाबरल ओकोसुवा अमनक्राले सङ्कटाको लागि चौथो गोल गरिन् । यो सँगै सङ्कटा ४–० को जित दर्ज गर्न सफल रह्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजित लिगमा ९ टोलीको सहभागिता छ ।

अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

ललितपुरस्थित च्यासल रङ्गशालामा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो । 

आर्मीको जितमा अञ्जना टुलुङ राईले दुई गोल गरिन् भने दिपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक–एक गोल थपे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचै गोल गर्न सफल भयो । यस जितसँगै आर्मीले पहिलो खेलमै तीन अंक जोड्दै लिग तालिकामा शीर्ष स्थान कब्जा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button