वालिङमा ‘स्मार्ट मनी’ अभियान: वित्तीय सचेतनामा बैंक–बीमाको संयुक्त पहल
स्याङ्जा। स्याङ्जाको वालिङ बजार मङ्गलवार बिहानै वित्तीय सचेतनाको सन्देशले गुञ्जायमान बन्यो ।

बैंकर्स क्लब वालिङको आयोजनामा ग्लोबल मनी वीक अन्तर्गत प्रभातफेरि तथा कोणसभा कार्यक्रम सम्पन्न गर्दै बैङ्क तथा बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूले समुदाय स्तरमै वित्तीय शिक्षाको आवश्यकता उजागर गरेका हुन् ।
पतञ्जलि योगपिठबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै मुक्तिनाथ विकास बैङ्क अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । सहभागीहरूले “पैसा बचत गरौँ”, “आम्दानी अनुसार खर्च गरौँ” जस्ता सन्देश बोकेका प्लेकार्ड मार्फत सर्वसाधारणलाई जिम्मेवार आर्थिक व्यवहारतर्फ प्रेरित गरेका थिए ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैङ्कका संस्थापक कार्यकारी प्रमुख तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले ग्लोबल मनी विकले वित्तीय साक्षरता विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता अभियानले बचत, लगानी र आर्थिक अनुशासनबारे सकारात्मक सोच विकास गराउने धारणा राख्नुभयो ।
त्यसै गरी शिखर इन्स्योरेन्स कम्पनी वालिङ शाखाका प्रमुख शंकर सुवेदीले बीमा नागरिकको आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसबारे अझ व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“Smart Money Talks” भन्ने नाराका साथ नेपाल राष्ट्र बैङ्क को संयोजनमा चैत २ देखि ८ गतेसम्म मनाइँदै आएको ग्लोबल मनी विक विश्वव्यापी अभियान हो । सन् २०१२ देखि OECD को पहलमा सुरु भएको यस कार्यक्रमले विशेष गरी बालबालिका र युवामा वित्तीय ज्ञान, सीप र सकारात्मक आर्थिक व्यवहार विकास गर्ने लक्ष्य राखेको छ ।
वालिङमा आयोजित यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको सन्देश गाउँ सहरसम्म पुर्याउँदै आर्थिक रूपमा सचेत समाज निर्माण तर्फ एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
बैंकर्स क्लब वालिङका अध्यक्ष नवीन काफ्लेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।







प्रतिक्रिया राख्नुहोस्