तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक विकास, सुशासन तथा समृद्धिको एजेन्डालाई अगाडी बढाउन इमानदारीपूर्वक काम अगाडी बढाएको बताउनुभएको छ । 

प्रदेश सरकार गठन भएको १ सय दिन पुरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले यस अवधिमा ५१ कामको शुरुआत भएको दाबी गर्नुभयो ।

उहाँले आफू सरकारको नेतृत्वमा आएको १ सय दिनको ५० दिन जति निर्वाचन आचार संहितामा बितेको र बाँकी ५० दिनमा निर्वाचनको तयारी सहितको काममा धेरै समय बितेको बताउनुभयो । 

मुख्यमन्त्री यादवले निम्न वर्गका व्यक्तिहरूको जीविकोपार्जनसँग जोडिएको ई–रिक्सा तथा ट्र्याक्टर चालकको चालक अनुमतिपत्र मधेश प्रदेशमा  मौखिक अन्तरवार्ताको आधारमा गर्ने निर्णय भएको बताउनुभयो । 

उहाँले मधेश प्रदेशका नदी तथा खोलाहरूमा वर्षेनी रुपमा थुप्रिने गरेको बालुवा गिट्टी निकासी गर्नका लागि अनुमति प्रदान गर्नका लागि संघ सरकारसँग माग भएको र यसले प्रदेशलाई आर्थिक रुपमा सबल हुनुका साथै बालुवा गिट्टीका कारणले कृषि योग्य जग्गामा हुने गरेको मरुभूमिकरणमा कमी आउने र प्राकृतिक श्रोतको सदुपयोग हुने बताउनुभयो । 

एक प्रश्नको जवाफमा उहाँले सुख्खाको समयमा तराई मधेशका जिल्लामा खानेपानीको अभावको समाधानका लागि निर्माणाधीन अवस्थामा रहेका ओभर ट्याङ्कहरूको सञ्चालनका विषयमा प्रदेश सरकारले चाँडै कदम चाल्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button