२१ औँ खुल्ला नेपाल प्याराग्लाइडिङमा ७ देशका ९० पाइलट सहभागी हुँदै
पोखरा । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यही चैत ५ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारी ९० प्रतिशत पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
तीन दिन चल्ने प्रतियोगितामा नेपालसहित विभिन्न ७ देशका ९० जना प्याराग्लाइडिङ पाइलटले सहभागिताका लागि नाम दर्ता गराइसकेको प्रतियोगिताका संयोजक सुनिलबहादुर भट्टराईले बताउनुभयो । प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूले पनि सहभागिता जनाउनेछन् ।
प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन गरिनेछ । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्याण्डिङ गर्ने तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ एक्युरेसी व्यक्तिगत तथा टिम विधामा प्रतिस्पर्धा हुनेछ । व्यक्तिगततर्फ प्रथम हुने खेलाडीले पुरुषतर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिमतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। महिला तर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्