चरिकोटमा अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको तयारी
दोलखा । आगामी २०८३ साल वैशाखको अन्तिम साता दोलखा सदरमुकाम चरिकोटमा अन्तर्राष्ट्रिय स्तरको चेस प्रतियोगिता आयोजना हुने भएको छ ।
दोलखा चेस होमले आगामी २०८३ साल बैशाख २८ देखि जेठ २ गतेसम्म छैटौँ दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यसअघि आयोजना भएका अन्तर्राष्ट्रिय चेस प्रतियोगिता क्लासिकल मात्र हुने गरेकोमा यो पटक भने क्लासिकल र र्यापीट दुवै इभेन्टमा हुने आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनुभयो ।
यसअघिका खेलहरूमा विभिन्न पाँच देशका खेलाडी सहभागी हुँदै आएकोमा यो पटक भारत, बङ्गलादेश, चीन, मङ्गोलिया, फ्रान्स, अमेरिका लगायत १० देशका तीन सय खेलाडी सहभागी हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय चेस प्रतियोगिता चेसको अन्तर्राष्ट्रिय संस्था फिडेमा दर्ता भएको रेटिङ टुनामेन्ट भएको र यसपटक टुनामेन्ट सञ्चालनको लागि नेपाल बाहेक अन्य तीन देशका आरविडर (निर्णायक) समेत सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एक सय एक जना खेलाडीले झण्डै सात लाख नगद पुरस्कार लाने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्न तीनै तहको सरकार, विभिन्न संघ– संस्था र उद्योगी– व्यवसायीलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्