तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ (Zhang Maoming) ले शिष्टाचार भेट गर्नुभएको छ। 

राजदूत चाङले आज ९सोमबार० सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। 

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो।

नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताउनुभयो।

गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताउनु भयो।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने बताउनुभयो। 

चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो। 

बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिनुभयो।

अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गर्नुभयो। भेटमा उहाँले कनेक्टिभिटीका लागि सडक सञ्जाल र सीमा नाकाहरूको पूर्वाधार विकासमा पनि पहल गर्न अनुरोध गर्नुभएको थियो।

सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो।

उहाँले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा उठेको बताउनुभयो।

नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताउनुभयो।

बिआरआई लगायत चीन(नेपालबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताउनुभयो।

भेटमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेल लगायत परराष्ट्र मन्त्रालय र संघीय संसद् सचिवालयका कर्मचारीहरू तथा चिनियाँ दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button