तपाईँ सुन्दै हुनुहुन्छः

औषधि व्यवस्था विभाग नेपालगन्जद्वारा ४ सय ४१ औषधि पसल अनुगमन, १४ कारबाहीमा

नेपालगन्ज। औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म ४ सय ४१ वटा औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको छ ।

कार्यालयका अनुसार ४०० औषधि पसल अनुगमन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी अर्थात् करिब ११० प्रतिशत अनुगमन सम्पन्न गरिएको हो ।

अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत देखिएपछि १४ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । विभागलाई आवश्यक परेमा अधिकतम ६ महिनासम्म पसल शील गर्ने अधिकार रहेको छ । निलम्बनमा पर्ने पसलहरू कैलाली, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्लाका रहेका छन् ।

अनुगमनपछि १४ वटा मुद्दा समेत अदालतमा दर्ता गरिएको छ । शाखा कार्यालयका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिना इजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैध रूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्ने जस्ता कसुरमा मुद्दा दर्ता भएका हुन् ।

यस्तै विभागले कार्यालयमा आउने उजुरीहरूको फर्छ्यौटमा पनि सक्रियता देखाएको छ । स्थानीय प्रशासनबाट प्राप्त चार वटै उजुरीको फछ्र्यौट गरिसकिएको छ भने नागरिकबाट आएका ६ वटा उजुरीमध्ये चार वटा उजुरीको टुङ्गो लगाइसकिएको फार्मेसी सुपरभाइजर न्यौपानेले जानकारी दिनुभयो । । यस अवधिमा शाखा कार्यालय नेपालगन्जले बजार अनुगमनका क्रममा सङ्कलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौँ पठाएको छ ।

बजार अनुगमनका क्रममा पछिल्लो समय व्यवसायी स्वयं पसलमा उपस्थित नहुने, फार्मेसीबाट न्यूट्रा प्रोडक्ट (खाद्यपूरक)को बिक्री–वितरण बढ्दो जस्ता समस्या देखिएको न्यौपानेले बताउनुभयो । व्यवसायीलाई पटक–पटक सचेत गरिए पनि अटेरी गर्ने प्रवृत्ति देखिएमा विभागले कारबाहीको दायरामा ल्याउने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button