वीरगंजबाट ५२ हजार ३ सय पिस प्रतिबन्धित ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल सहित दुईजना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित औषधी ट्रामाडोल सहित दुई जनालाई अमज वीरगंजबाट पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका–१४ गण्डक चोकस्थित प्रहरी चेकपोस्टमा सवारी चेकजाँचका क्रममा ना ७ ख ७६८६ नम्बरको ट्रक रोकी जाँच गर्दा लुकाइछिपाइ राखिएको ५२ हजार ३ सय पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी बरामद गरिएको हो ।
उक्त प्रतिबन्धित औषधिसहित प्रहरीले बारा पचरौता नगरपालिका–९ निवासी ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका–२ सिसियाडी निवासी ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद औषधिसहित पक्राउ परेकामाथि प्रतिबन्धित औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रामाडोल सामान्यतया मध्यमदेखि गम्भीर दुखाइ कम गर्न प्रयोग हुने ओपिओइड समूहको औषधि हो । यसको दुरुपयोग हुन सक्ने भएकाले धेरै देशमा यसको प्रयोग कडाइका साथ नियन्त्रण गरिन्छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै पछिल्लो समय लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सवारी साधन चेकजाँच कडा बनाइएको जनाएको छ ।
पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले बरामद भएको औषधि काठमाडौँ लैजान लागिएको भए पनि अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताउँदै घटनामा संलग्न मुख्य गिरोहसम्म पुग्ने गरी प्रहरीले अनुसन्धान अघि बढाएको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्