तपाईँ सुन्दै हुनुहुन्छः

वन डढेलो रोकथाम एवं नियन्त्रणका लागि मोरङमा सचेतना अभियान सुरु

विराटनगर । वन डढेलो रोकथाम एवं नियन्त्रणका लागि मोरङमा सचेतना अभियान शुरु गरिएको छ । 

डिभिजन वन कार्यालय मोरङले जिल्लमा रहेका दश वटा सव–डिभिजन कार्यालय तथा सामुदायिक वनको उपभोक्ता समूहको समन्वयमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको हो ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले चैत र  वैशाख महिनामा  वन डढेलो तथा आगलागीका घटना बढी हुने  सम्भावना रहेकाले नियन्त्रणका लागि सबै सव डिभिजन कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता समूह तथा कार्यालयका कर्मचारी सम्मिलित समिति गठन गरि सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । 

त्यसैगरि  कार्यालयले जिल्लामा रहेका चारवटा साझेदारी वनमा चारवटा पानी बोक्ने ट्याङ्कर तयारी अवस्थामा राख्नुका साथै वनजंगल क्षेत्रमा पात पतिङ्गर सरसफाई गर्ने तथा सामुदायिक वन उपभोक्ता समूह तथा वन हेरालु  मार्फत वनमा गस्ती गर्ने कार्यलाई तीव्रता दिएको कार्यालय प्रमुख थापाको भनाई छ । 

वन डढेलोले जनधन, वन र जैविक विविधतामा असर पर्ने भएकाले स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम, पर्चा पम्पलेट वितरण तथा विभिन्न सञ्चार माध्यम मार्फत वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्नुका साथै डढेलो नियन्त्रण सम्बन्धी सामुदायिक वनका उपभोक्ता समूहलाई विभिन्न प्रकारका औजार सामाग्री वितरण गरिको सो कार्यालयका वन अधिकृत रामलखन ठाकुरले बताउनुभयो । 

गत वर्ष मोरङमा वन डढेलो तथा आगलागीका कारण  २ सय हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको थियो भन्ने अघिल्लो वर्ष चार सय हेक्टर क्षेत्रफल वनमा वन डढेलो कारण क्षति पुगेको अधिकृत ठाकुरले जानकारी दिनुभयो ।

डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसारलाई जोड दिएपछि मोरङ जिल्लामा डढेलोका घटनमा कमी आउन थालेको ठाकुरको भनाई छ । 

मोरङ जिल्लामा ४४ हजार ५ सय ४ हेक्टर क्षेत्रफलमा वनले ओगटेको छ ।  जिल्लामा १ सय ४१ वटा सामुदायिक वन, चार वटा साझेदारी वन तथा १२ वटा धार्मिक वन रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button