डढेलो नियन्त्रण सचेतना सप्ताह सुरु
धनकुटा । धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ ।

डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो रोकथाम नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापन कार्यक्रमको आयोजना गरेर वन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको हो । आगामी ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने र जेठ मसान्तसम्म डढेलोको समय भएकोले विशेष निगरानीका कार्यक्रम हुने डिभिजन वन कार्यालय धनकुटाले जनाएको छ ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले जानकारी दिनुभयो ।
वन डढेलो नियन्त्रण सप्ताहमा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका गरिने जनाइएको छ । समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने तयारी गरिएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
धनकुटामा ३ सय ८७ वटा सामुदायिक वन रहेका छन् । धनकुटामा हरेक वर्ष वन डढेलोको कारणले वनमा रहेका वनस्पतिजन्य वस्तुको क्षति हुँदै आएको छ ।





प्रतिक्रिया राख्नुहोस्