मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा यसपटक पनि घट्न सकेन मत बदरको संख्या
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अनुमान गरिएभन्दा निकै बढी मत बदर भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी र समानुपातिक तर्फ करिब ४ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क छ ।
बढी भन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्यूनीकरण गर्ने उद्देश्यले यसपटक डिजिटल र स्थलगत रुपमा सबै स्थानीय तहका वडाहरूमा मतदाता शिक्षा सञ्चालन गरिएको थियो तर प्रारम्भिक तथ्याङ्कले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन सकेन ।
प्रत्यक्ष तर्फ एकभन्दा बढी चिन्हमा मतदान गरेका कारण धेरै मतपत्र बदर भएको पाइएको छ । निर्वाचन आयोगले मत बदर भएको सङ्ख्यालाई गम्भीर रुपमा लिएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताउनुहुन्छ ।
मत बदर सङ्ख्या नघट्नुमा मतदाता शिक्षालगायत मतपत्र बदर सदर हुनुमा अन्य धेरै कारणहरू पनि रहेका हुने ती कुराहरूका विषयमा समीक्षा गरेर आगामी दिनमा अगाडी बढ्नु पर्ने प्रवक्ता घिमिरे बताउनुहुन्छ ।
निर्वाचनमा बदर मतको दर नघटेका कारण आगामी दिनमा मतदाता शिक्षाको शैली नै परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती मत बदर संख्या घटाउन निरन्तर मतदाता शिक्षा सञ्चालन गर्ने, विद्यालय तहको पाठ्यक्रममा नै मतदाता शिक्षाको व्यवस्था गर्ने, डिजिटल रुपमा मतदान गर्ने गरी व्यवस्था गरेर मत बदर संख्या घटाउने तर्फ आयोगले काम गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
कक्षा ८ देखी १२ कक्षासम्मका विद्यार्थीहरूलाई पाठ्यक्रममा नै राखेर निर्वाचन शिक्षाबारे ज्ञान दिने र प्रयोगात्मक रुपमा अध्ययन गर्ने व्यवस्था गर्न सके निरन्तर र दूरगामी प्रभाव पार्न सकिने तथा आगामी निर्वाचनमा इलेकट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर र डिजिटल रुपमा मतदान गर्न सक्ने व्यवस्था गर्न सके मत बदर घटाउन सकिने पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती बताउनुहुन्छ ।
एउटा मात्र उम्मेदवार छान्नुपर्ने मतपत्रमा दुई वा सोभन्दा बढी चिन्हमा मत सङ्केत गर्दा धेरै मतपत्र बदर भएको देखिएपनि बदर मतको वास्तविक प्रकृति र कारणबारे विस्तृत अध्ययन गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।
आम मतदातालाई कसरी मत हाल्ने, कति वटा चिन्हमा मत हाल्ने, अर्को चिन्हमा मसी नलाग्ने गरी कसरी मतपत्र पट्याउने लगायतका विषयमा अझै प्रभावकारी शिक्षा दिन जरुरी देखिएको छ । साथै मत बदर हुनुमा कस्ता खालका त्रुटि भए र केके कमी रहे भन्ने विषयमा अगामी दिनमा अध्ययन हुनु र मतदाता शिक्षाको शैली नै परिवर्तन हुनुपर्नेमा विज्ञहरुको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्