रुपन्देहीमा प्रत्यक्ष र समानुपातिकतर्फ करिब ३९ हजार मत बदर
रुपन्देही। रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा गरी करिब ३९ हजार मत बदर भएको छ । सबै क्षेत्रमा गरेर प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनाका क्रममा एकभन्दा धेरै चिन्हमा छाप लगाएका, कतै ल्याप्चे लगाएका र केही मतपत्र खाली नै भेटिएका थिए । दक्षिणी ग्रामीण क्षेत्रमा छाप नलगाएका रित्तै मतपत्र फेला परेको गणनामा बसेका कर्मचारीहरूको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देही–१ मा ९६ हजार ८ सय ५९ मत खसेको थियो । यो क्षेत्रमा प्रत्यक्षतर्फ ४ हजार ८ सय ५९ र ३ हजार ६ सय ८ मत बदर भएको छ ।
रुपन्देही–२ मा ८६ हजार ३ सय ३२ हजार २ सय ९० मत खसेकोमा प्रत्यक्षतर्फ २ हजार २ सय ९० र समानुपातिकतर्फ १ हजार ५ सय १७ मत बदर भएको थियो ।
रुपन्देही–३ मा ९३ हजार ५ सय ७६ मत खसेकोमा प्रत्यक्षतर्फ ४ हजार १ सय ६२ र समानुपातिकमा २ हजार ९ सय ५६ बदर भएको छ ।
रुपन्देही–४ मा ७७ हजार १५ मत खसेकोमा प्रत्यक्षतर्फ ४ हजार ९ सय ७७ र समानुपातिकमा ३ हजार ९ सय ७७ बदर भएको छ ।
रुपन्देही–५ मा ८४ हजार ५ सय ७२ मत खसेकोमा प्रत्यक्षतर्फ ५ हजार ७ सय ४७ र समानुपातिकमा ४ हजार ६ सय ६९ मत बदर भएको छ ।
प्रत्यक्षतर्फ ४ लाख ३८ हजार ३ सय २५ र समानुपातिकतर्फ ४ लाख ४१ हजार ४ सय ३० मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय प्रमुख कल्पना अर्यालले रुपन्देहीमा प्रत्यक्षतर्फ ५ दशमलव ३ र समानुपातिकतर्फ ३ दशमलव ७९ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो । धेरै मत बदर हुनुको कारण मतदाता शिक्षा प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
स्थानीय तहका प्रत्येक वडामा एक–एक जना स्थानीय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर भोट हाल्न सिकाइएको थियो । दल र उम्मेदवारहरूले पनि यसमा ध्यान दिनुपर्ने अधिवक्तासमेत रहनुभएका अध्यापक युवराज कँडेलले बताउनुभयो । उहाँका अनुसार विगतमा दलहरूबिच गठबन्धनका कारण यस्तो समस्या भए पनि अहिले मत फेर्ने र मत बाँड्ने नाराले पनि यस्तो भएको हो ।







प्रतिक्रिया राख्नुहोस्