तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा मतदाता शिक्षा कमजोर, १० हजार बढी मत बदर

नवलपरासी, पश्चिम् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासीमा कुल १० हजार ४ सय ७७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन विवरण अनुसार, निर्वाचन क्षेत्र नम्बर १ मा ८२ हजार १ सय ७ मतदानमध्ये ५ हजार १८ मत बदर भएका छन्। क्षेत्र नम्बर २ मा ८८ हजार ९ सय १५ मत खसेकामा ५ हजार ४ सय ५९ मत बदर भएको तथ्याङ्क उपलब्ध छ। 

यसरी मतदानमा सहभागीमध्ये करिब ६।१२ प्रतिशत मत बदर भएको छ।मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार बदर मतका कारणमा एउटै मतपत्रमा दुई वटा चुनाव चिह्नमा छाप लगाउनु, दुई वटा चिन्हको बिच भागमा छाप लगाउनु, र मतपत्र पट्याउन नजान्दा मसी लतपत हुनु जस्ता समस्या रहेका छन्।

उहाँले भन्नुभयो, ‘मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रम आयोजना भए पनि ती प्रभावकारी हुन नसकेकाले बदर मत घटाउन सकिएको छैन।’

उस्तै उस्तै प्रकृतिका देखिने चुनाव चिन्हका कारण समेत केही मतदाता झुक्किएका छन् र दुवै चिन्हमा छाप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button