तपाईँ सुन्दै हुनुहुन्छः

कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा दुर्गन्धले जनजीवन कष्टकर

बाँके । बाँकेको भिखारी पुर्वा–पर्वतीपुर क्षेत्रको नहरमा कथ्था फ्याक्ट्रीबाट फालिएको फोहोर पानी मिसिँदा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ। दुर्गन्धित र कालो पानीका कारण नहर आसपासका बस्तीमा बसोबास गर्ने नागरिक मात्र होइन, पशुपन्छीको ज्यानसमेत जोखिममा परेको स्थानीय शिया यादवले बताउनु भयो ।

राँझा नहरबाट बनिया गाउँ हुँदै जानकी गाउँपालिकाको इलाका प्रहरी कार्यालय खाजुराखुर्द नजिकको नालासम्म बगेको कालो र दुर्गन्धित पानीले वातावरण नै प्रदूषित बनेको छ। यादवका अनुसार नहरको पानी अत्यन्त गन्हाउने र फोहोर भएपछि दैनिक जीवन प्रभावित भएको छ। पानीको प्रयोगले पशुपन्छी बिरामी पर्न थालेका छन् भने सिँचाइमा प्रयोग गर्दा अन्नबालीमा समेत नकारात्मक असर परेको किसानहरूको गुनासो छ।

स्थानीय बासिन्दाहरूका अनुसार लामो समयदेखि फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसाइँदै आएकोले वातावरणीय जोखिम बढ्दै गएको छ। दुर्गन्धका कारण नजिकै बसोबास गर्ने नागरिकलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको छ।

यस विषयमा जानकी गाउँपालिका वडा नं। ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकानाथ यादवले बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न आग्रह गर्नुभएको छ । उहाँले फ्याक्ट्रीबाट नहरमा फोहोर पानी मिसाउने कार्यले स्थानीयको स्वास्थ्य, पशुपन्छी तथा कृषिमा गम्भीर असर पारिरहेको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने बताउनुभयो।

जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि उक्त घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जनस्वास्थ्य र वातावरणसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायसँग समन्वय गरी छानबिन गरिने बताउनुभयो। उहाँले नहरमा फोहोर पानी मिसाउने गतिविधि पुष्टि भएमा कानुनी प्रक्रिया अनुसार आवश्यक कदम चालिने स्पष्ट पार्नुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले पनि स्थानीयबाट गुनासो आएको भन्दै अनुगमन टोली गठन गरी वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणीय मापदण्ड विपरीत काम भएको पाइएमा सम्बन्धित उद्योगलाई नियमन र कारबाहीको दायरामा ल्याइनेछ ।

गाउँपालिकाका लेखा अधिकृत मतिन अन्सारीले समेत वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्तो विषयलाई बेवास्ता गर्न नसकिने बताउँदै सरोकारवाला निकायसँग सहकार्य गरी समस्या समाधानतर्फ पहल गरिने बताउनुभयो ।

स्थानीय बासिन्दाले भने दुर्गन्धित र प्रदूषित पानीले मानव स्वास्थ्यसँगै पशुपन्छीको ज्यानसमेत जोखिममा पारेको भन्दै तत्काल अनुगमन गरी समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button