मधेश प्रदेशका ३० निर्वाचन क्षेत्रमा रास्वपाको जीत
जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जीत हासिल गर्नमा सफल भएको छ ।

मधेशका ३२ संसदीय क्षेत्रमध्ये ३० सिटमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ भने धनुषा १ मा पनि रास्वपाका उम्मेदवार किशोरी साह कमलको धेरै मत भए पनि उहाँको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेपछि दोस्रो बढी मत ल्याउनुभएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादव निर्वाचित हुनुभएको छ । तर, निर्वाचन आयोगले आफ्नो वेबसाइटमा धनुषा १ को कुनै उम्मेदवारको मत सार्वजनिक गरेको छैन ।
यसै गरि रौतहट क्षेत्र नम्बर २ बाहेक सबै क्षेत्रमा रास्वपा विजयी भएको छ । सो क्षेत्रमा भने नेपाली कांग्रेसका नेता स्वर्गीय मोहम्मद अफतावका छोरा मोहम्मद फिरदोश आलम निर्वाचित हुनुभएको छ । रौतहट–२ मा कांग्रेसका फिरदोश आलमले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गर्नुभएको छ भने रास्वपाका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत पाउनुभएको छ ।
निर्वाचन परिणामले मधेशमा स्थापित मानिएका ठूला नेताहरूलाई समेत पराजित गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित हुनुभएको छ ।
यसैगरी नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले पनि ठूलो मतान्तरले पराजित हुनुभएको छ ।
सप्तरीका चार वटै क्षेत्रमा रास्वपा विजयी भएको छ । सप्तरी–१ बाट पुष्पा कुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित हुनुभएको छ । सिरहाको चारवटै क्षेत्रमा रास्वपाको जीत भएको छ । सिरहा–१ बाट बबलु गुप्ता, २ बाट शिव यादव, ३ बाट शम्भु कुमार यादव र ४ बाट तपेश्वर यादव विजयी हुनुभएको छ ।
हालका लागि धनुषामा क्षेत्र नम्बर १ बाहेक धनुषा–२ बाट रामविनोद यादव, ३ बाट मनिष झा र ४ बाट राजकिशोर महतो निर्वाचित हुनुभएको छ । महोत्तरीका चारवटै क्षेत्रमा पनि रास्वपाले सफलता हात पारेको छ । महोत्तरी–१ बाट प्रमोद महतो, २ बाट दीपक कुमार साह, ३ बाट उज्ज्वल झा र ४ बाट गौरी कुमारी यादव विजयी हुनुभएको छ ।
सर्लाहीमा नितिमा कार्की भण्डारी, रविन महतो, नरेन्द्र साह र डा. अमरेशकुमार सिंह क्रमशः क्षेत्र नम्बर १, २, ३ र ४ बाट निर्वाचित हुनु भएको छ । रौतहटमा क्षेत्र नम्बर १ बाट राजेश चौधरी, ३ बाट रविन्द्र पटेल र ४ बाट गणेश पौडेल र क्षेत्र नम्बर २ मा कांग्रेसका फिरदोश आलम निर्वाचित हुनुभएको छ ।
बारामा चारवटै क्षेत्रमा रास्वपाले जित निकालेको छ । बारा–१ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहवर अन्सारी निर्वाचित हुनु भएको छ । पर्साका चारवटै क्षेत्रमा रास्वपा विजयी भएको छ । पर्सा–१ बाट बुद्धिप्रसाद पन्त, २ बाट सुशील कुमार कानु, ३ बाट रामाकान्त प्रसाद चौरसिया र ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका हुनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्