तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा मतगणना हुने तयारी

पोखरा । कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदाताको सहभागिता उत्साहजनक देखिएकाले कुल ६० देखि ६२ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ । 

मतदान सकिए पनि सबै मतदानस्थल र मतदान केन्द्रको समयमै रिपोर्टिङ हुन नसक्दा हाल एकिन तथ्याङ्क हाल नआएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताए । 

११ बजेसम्म करिब २० प्रतिशत मत खसेको थियो। त्यसपछि मतदाताको सहभागिता बढ्दै जाँदा दिउँसो १ः३० बजेसम्म करिब ४० प्रतिशत मत खसेको हो। मतदानको अन्तिम समयसम्म मतदाताको उपस्थितिले जिल्लामा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको उनले जनाए । 

मतदान सकिएपछि आजै मतगणना सुरु गर्ने तयारी गरिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए । जिल्लाभरका मतदान केन्द्रमा कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले जनाए । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गरेका थिए ।

मतदान सकिएपछि मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याएसँगै सर्वदलीय बैठकपछि आजै मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत बेल्बासेले बताए । उनका अनुसार कास्की–१ को मतगणना पोखरा–१२ स्थित वडा कार्यालयमा, कास्की–२ को मतगणना निर्वाचन कार्यालयमा तथा कास्की–३ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको कृषि मन्त्रालयको भवनमा गरिने व्यवस्था मिलाइएको छ ।

जिल्लामा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको हो । कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् भने जिल्लाभर २ अस्थायी मतदान स्थलसहित १ सय ५३ मतदान स्थलमार्फत मतदान भएको हो।

दृष्टिबिहिन श्रीकान्त सापकोटाले आगामी निर्वाचनमा आफूहरूले कसैको सहायता विना मतदान गर्ने वातावरण सृजना गर्नुपर्ने माग गरे । “अर्कोको भरमा मेरो मनको गोप्य मत हाल्नुपर्ने बाध्यताले मेरो मन खुसि छैन ।” उनले भने । पेशाले शिक्षक सापकोटाले यस्ता विषयमा राजनीतिक दलहरूले सोच्नुपर्ने बताउँदै पोखरा १ मा रहेको संस्कृति माविबाट मतदान गरेका हुन् । 

यसैबीच, अस्थायी मतदान केन्द्र रहेको कास्की कारागारमा शत प्रतिशत मतदान भएको छ। मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान करिब दुई घण्टामै सम्पन्न भएको थियो। कारागारमा रहेका ३७ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी कुल ४० मत खसेको जनाइएको छ ।

त्यस्तै, कर्मचारीका लागि जिल्ला समन्वय समिति कास्की परिसरमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ जहाँ निर्वाचनमा खटिएका कर्मचारीहरूले समानुपातिक तर्फको मत हालको हुन् । निर्वाचन अधिकृत सरस्वती गिरी उक्त केन्द्रमा खटिएकी थिइन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button