उदयपुरमा २८ कैदीबन्दीले गरे मतदान

उदयपुर I उदयपुरमा २८ जना कैदीबन्दीले मतदान गरेका छन्।
जिल्ला कारागार उदयपुरमा २४६ जना कैदीबन्दी रहे पनि मतदाता नामावलीमा नाम भएका २८ जनाले मात्र मतदान गरेका हुन्।
कारागारमा रहेका सबै कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएकाले २८ जनाले मात्रै मतदान गर्न पाएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

यसैबीच उदयपुरमा बिहान ७ बजेदेखि नै जिल्लाका दुवै निर्वाचन क्षेत्रका १०३ मतदान स्थल र २७५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो।
बिहान ७ बजे मतदान सुरु भएलगत्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्रमा रहेको मतदान स्थलमा सुरक्षाकर्मीले बोकेको हतियार बिहान ७ बजेर १३ मिनेटमा मिसफायर भएको थियो। प्राविधिक त्रुटिका कारण भएको उक्त मिसफायरबाट एउटा मतपेटिकामा सामान्य क्षति पुगेको र केहीबेर मतदान प्रक्रिया रोकिएको थियो।

करिब १० मिनेटभित्रै अर्को मतपेटिका निर्माण गरी सो मतदान स्थलमा पुनः मतदान प्रक्रिया सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो। हाल उक्त केन्द्रमा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
यसैबीच नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि मतदान गर्नुभएको छ। उहाँले बिहान ८ बजे त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री खड्काले २०८४ मा हुनुपर्ने निर्वाचन विशेष परिस्थितिका कारण २०८२ मै हुन लागेको बताउँदै यसले देशमा स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस निर्वाचनले भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा ७१ हजार ४५२ पुरुष, ७१ हजार ३०० महिला र २ अन्य गरी कुल १ लाख ४२ हजार ८४ मतदाता रहेका छन्। यहाँ ३ नगरपालिकाका ३५ वटा वडा समेटिएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ५१ मतदान स्थल र ११५ मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा ५० हजार ४१४ पुरुष र ४५ हजार ७०८ महिला गरी कुल ९६ हजार १२२ मतदाता रहेका छन्। यहाँ १ नगरपालिका र ४ गाउँपालिका गरी ४० वटा वडा समेटिएका छन्।







प्रतिक्रिया राख्नुहोस्