इलाम–२ को मतगणना स्थल ‘गौतम बुद्ध सभा गृह’ तयारी अवस्थामा

इलाम । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम–२ का लागि सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा तोकिएको मतगणना स्थलमा अन्तिम तयारी पूरा गरिएको छ। उक्त स्थलमा मतदान कक्ष निर्माण, जालीले घेराबेरा, प्रवेश तथा बहिर्गमन मार्ग व्यवस्थापन, सूचना टाँस्ने लगायतका कार्य सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख देविचरण फुएलले जानकारी दिनुभयो।
मतदान गराउन खटिएका कर्मचारीहरू मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली सूची तथा अन्य आवश्यक निर्वाचन सामग्रीसहित स्थलमा पुगेका छन्। सर्वदलीय बैठकसमेत सम्पन्न गरी निर्वाचन आचारसंहिता पालना र समन्वयबारे छलफल गरिएको जनाइएको छ। सुरक्षाकर्मीहरू समेत मतदान स्थलमा परिचालन भइसकेका छन्।
यसैबीच, जिल्लाभर १५० स्थायी र २ अस्थायी गरी कुल १५२ मतदान केन्द्र रहेका छन्। ती केन्द्रअन्तर्गत २९० मतदान स्थल तोकिएका छन्। सबै केन्द्र र स्थलहरूमा कर्मचारी तथा निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै कार्यालयले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।






प्रतिक्रिया राख्नुहोस्