बाँकेमा सीमा नाका बन्द, भारतबाट फर्केका ५०० लाई सहजीकरण गरी गन्तव्यतर्फ पठाइयो

नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू ७२ घण्टाका लागि गएराति १२ बजेदेखि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिनुभयो ।
यद्यपि भारतबाट नेपाल आउने तीर्थयात्री, पर्यटक, औषधि उपचार गरेर फर्कनेहरूका हकमा भने आजसम्म सहजीकरण गरिएको छ । सो अवधिमा सीमाबाट दैनिक रूपमा आवागमन गर्ने पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ । नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक ४०/५० हजार ओहोरदोहोर गर्ने गरेको पाइन्छ । आज भारतबाट फर्केका करिब ५०० लाई सहजीकरण गरी गन्तव्यतर्फ पठाइएको प्रजिअ तामाङले जनाकारी दिनुभयो ।
यसैगरी फागुन २० गते (बुधवार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्