बाजुराका सबै मतदान स्थलमा सामग्री सहित पुगे कर्मचारी

बाजुरा I आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा तयारी पूरा भएको छ।
निर्वाचनमा खटिएका कर्मचारी आवश्यक मतदान सामग्रीसहित तोकिएका सबै मतदान स्थलमा पुगिसक्नुभएको छ।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। उहाँका अनुसार जिल्लाभर ७ सय ९ जना कर्मचारी निर्वाचनमा खटाइएका छन्। एक सय १८ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रत्येक केन्द्रमा करिब ६ जना कर्मचारी परिचालन गरिएको छ। जिल्लामा कुल ७७ मतदान स्थल कायम रहेका छन्।

निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना निर्वाचन प्रहरी परिचालन गरिएको छ। मतदातालाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अपिल गरेको छ।







प्रतिक्रिया राख्नुहोस्