तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन तयारी अन्तिम चरणमा: बाँकेमा मतपेटिका र जनशक्ति व्यवस्थापन सम्पन्न 

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा भौतिक तथा मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगंजका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरिका मतदान केन्द्रका लागि आवश्यक ८०९ वटा मतपेटिका व्यवस्थापन भइसकेको छ ।

मतपेटिका व्यवस्थापनसँगै निर्वाचनमा खटिने जनशक्तिको टुङ्गो पनि लगाइएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी २४०९ जना कर्मचारी परिचालन गरिएको छ।

क्षेत्र नम्बर १ मा १४१ मतदान अधिकृत, १४१ सहायक मतदान अधिकृत, ४२३ सहायक कर्मचारी र १४१ सहयोगी खटिनेछन्। क्षेत्र नम्बर २ मा १२६ मतदान अधिकृत, १२६ सहायक मतदान अधिकृत, ३७२ सहायक कर्मचारी र १२६ सहयोगी परिचालन हुनेछन्। यस्तै क्षेत्र नम्बर ३ मा १३६ मतदान अधिकृत, १३६ सहायक मतदान अधिकृत, ४०५ सहायक कर्मचारी र १३६ सहयोगी खटिनेछन्।

यसका अतिरिक्त, तीनवटै क्षेत्रमा रहेका मतदान केन्द्रका लागि १२०६ जना स्वयंसेवक सम्बन्धित मतदान अधिकृतमार्फत नियुक्त गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रेडियो नेपालसँग कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत दाहालले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न मतदाताले समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नु आवश्यक छ ।”

निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बालबालिका भएका महिला लगायतका मतदातालाई लाइन नलागी सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । मुस्लिम समुदायको पवित्र महिना रमदान चलिरहेको सन्दर्भमा मतदानका क्रममा सहज वातावरण बनाउन जिल्लाका तीनवटै स्थानीय तहसँग त्रिपाल व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत दाहालले फरक क्षमता भएका र विशेष समूहका मतदातालाई सहज वातावरण सुनिश्चित गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिइएको बताउनुभयो ।

मतदान प्रक्रिया अनुसार मतदाताले पहिले ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गत सेतो कागजमा रातो अक्षर भएको मतपत्रमा आफ्नो रोजाइको उम्मेदवारमा मत सङ्केत गरी १ नम्बर लेखिएको मतपेटिकामा हाल्नुपर्नेछ । त्यसपछि समानुपातिकतर्फ सेतो कागजमा कालो अक्षर भएको मतपत्रमा आफूले मन पराएको राजनीतिक दलमा मत सङ्केत गरी २ नम्बर लेखिएको मतपेटिकामा खसाल्नुपर्ने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार पहिलो हुने निर्वाचित हुने मतपत्रमा लगाइएको छापले उम्मेदवारलाई र समानुपातिक मतपत्रमा लगाइएको छापले राजनीतिक दललाई मत जानेछ ।

यसैबीच, निर्वाचनको समग्र तयारी ९५ प्रतिशत पूरा भइसकेको जानकारी दिँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन १८ गते कर्मचारीहरू मतदान केन्द्रहरू पुगेर काम सुरु गर्ने जानकारी दिनु भयो ।

आचारसंहिता सबैमा लागू हुने उल्लेख गर्दै दाहालले मौन अवधिमा होली पर्व परेकाले घरपरिवारमै सीमित भई संयमता अपनाउन र निर्वाचनलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button