तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निर्वाचनका लागि २ हजार ४०९ कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु

बाँके । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई शनिबारदेखि नियुक्तिपत्र वितरण सुरु गरिएको छ। निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्‍याउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्ज र निर्वाचन अधिकृतका कार्यालयले नियुक्तिपत्र वितरण अघि बढाएका हुन्।

मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतले तालिमअघि नै नियुक्तिपत्र बुझिसकेका छन्। बाँकी सहायकस्तरका कर्मचारीलाई अहिले नियुक्तिपत्र प्रदान गरिँदैछ।

नियुक्तिपत्र प्राप्त गरेपछि कर्मचारीहरू आफ्नो जिम्मेवारीअनुसार निर्वाचन प्रक्रियामा खटिनेछन्। कार्यालयका अनुसार निर्वाचनलाई स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

जिल्लामा तीन निर्वाचन क्षेत्र छन्। ती अन्तर्गत १३९ मतदानस्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ। बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

सहायक कर्मचारी गणेश कुमार मिश्रका अनुसार प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइनेछ भने प्रत्येक मतदानस्थलमा ३ जना स्वयंसेवक परिचालन गरिनेछ। आवश्यकताअनुसार नेपाल प्रहरीसमेत परिचालन गरिने तयारी छ।

निर्वाचनका लागि मसी, मतपेटिका लगायत ५२ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ। केही सामग्री कार्यालयमै उपलब्ध छन् भने बाँकी निर्वाचन आयोगबाट आउने क्रममा रहेको जनाइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा मतदान केन्द्र केन्द्रित तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button