‘निर्वाचन हुनैपर्छ’ भन्ने अठोटले सफलता दिलायो : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कयौँ चुनौती र अन्यौलता चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ सम्पन्न गरिएको बताउनुभएको छ ।
निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुनै पर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको बताउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले नआत्तिईकन भाग लिएकाले पनि स्वच्छ, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न हुन सकेको बताउनुभयो ।
सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको अघिल्लो दिनसम्म अझै निर्वाचन हुन्छ र भन्ने प्रश्नको सामना गर्नुपरेको स्मरण गर्नुहुँदै कयौँ चुनौतीका बाबजुद यस पटक करिब १० लाख युवा मतदाताले पहिलो पटक उत्साहपूर्ण रूपमा मतदान गरेको बताउनुभयो ।
यस पटकको निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउनु नपरेकाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वका १० वटा देशका निर्वाचन आयोगमध्ये नेपाल पनि पर्ने आयुक्त भण्डारीले जानकारी गराउनुभयो ।
यस्तै, फागुन २१ गतेको निर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेकै कारण कसैलाई पनि कडाइका साथ कारबाही गर्नु नपरेको पनि आयोगले जनाएको छ ।
सोही अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नवनिर्वाचित सांसदहरूलाई निर्वाचन प्रणाली फेर्न उठेका मागलाई सम्बोधन हुने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन समेत ध्यानाकर्षण गराउनुभयो ।

यस पटकको निर्वाचनमा ५७ चिह्नमा ६३ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएकोमा ६ वटा दलले सांसद निर्वाचित गराउन सफल भएको सो अवसरमा जानकारी गराइएको छ ।
समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ५७ जना सांसद निर्वाचित भएका छन् भने नेपाली काँग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार÷चार जना सांसद निर्वाचित भएको हुन् ।







प्रतिक्रिया राख्नुहोस्