तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा निर्वाचन लक्षित सुरक्षा निकायको संयुक्त अनुगमन

सुर्खेत । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी कर्णालीका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी र अनुगमन तीव्र पारिएको छ । 

निर्वाचनलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ प्रदेश निर्वाचन कमाण्ड पोष्ट÷प्रदेश निर्वाचन सेलका प्रमुख एवम् कर्णाली प्रदेश सरकारका मुख्य सचिव वीरेन्द्रकुमार यादवको नेतृत्वमा स्थलगत अनुगमनलाई तीव्रता दिइएको हो । 

अनुगमनका क्रममा प्रहरी कार्यालयहरूको सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गरिएका अन्य प्राविधिक तयारी बारे विस्तृत जानकारी लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिनुभयो । 

कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) जयराज सापकोटाले शान्ति सुरक्षालाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप माथि कडा निगरानी राख्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । नागरिकको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले आफ्नो दायित्व पुरा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताले सुरक्षित महसुस गर्ने गरी सुरक्षा रणनीति तय गरिएको र सबै निकायबिच समन्वय प्रभावकारी बनाउन यस्तो अनुगमन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शाहले बताउनुभयो । 

अनुगमन टोलीले निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षाका साथै मतदानका दिन अपनाइने विशेष सुरक्षा सतर्कताबारे समेत आवश्यक निर्देशन दिएको उहाँको भनाइ छ । 

कर्णाली प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेका छन् । प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button