जिल्ला प्रशासन कार्यालय इलामद्वारा निर्वाचन अवधिमा सवारी र मदिरामा कडाइ
इलाम । जिल्ला प्रशासन कार्यालय इलामले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लामा सवारी आवागमन तथा मदिरा बिक्री वितरणमा विशेष व्यवस्था लागू गरेको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, विद्युत् सेवा, दूरसञ्चार सेवा लगायत अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाइनेछ। अन्य सवारी साधन सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी होली पर्व मनाउने सन्दर्भमा पनि प्रशासनले शान्ति सुरक्षा खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ। सार्वजनिक स्थानमा अमर्यादित व्यवहार, जबरजस्ती रङ्ग दल्ने, पानी फाल्ने, होहल्ला गर्ने जस्ता कार्य नगर्न अनुरोध गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पनि प्रतिबन्ध लगाइएको छ। अन्तिम मत परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री, वितरण र ओसारपसार गर्न नपाइने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल ले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला तथा सर्वसाधारणलाई प्रशासनको सूचनाको पालना गर्न आग्रह गरेका छन्। उनले सूचनाको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।







प्रतिक्रिया राख्नुहोस्