स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
नेपालगञ्ज । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया, जेन्जी तथा युवाको सहभागिता विषयक अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले निर्वाचन आचारसंहिताको पूर्ण पालनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । आचारसंहिता पालनाको विषयमा हालसम्म ४८ वटा गुनासो प्राप्त भएको र सबै गुनासोको सम्बन्धमा सम्बन्धित निकाय तथा व्यक्तिलाई जानकारी तथा निर्देशन दिएर फछ्र्यौट भइसकेको बताउँदै खत्रीले आचारसंहिताको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्नुभएको थियो । कुनै आग्रह वा पूर्वाग्रह नराखी स्वच्छ, निष्पक्ष तथा मर्यादित ढंगले निर्वाचन सम्पन्न गर्ने कार्यमा सबै पक्ष लाग्नुपर्नेमा उहाँको जोड थियो ।
सहभागीहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले विगतको निर्वाचनबाट भएको सिकाईको आधारमा निर्वाचन केन्द्रलाई अपाङ्गतामैत्री र सबैको पहुँचयोग्य बनाउनका लागि सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको बताउँदै गुनासोरहित निर्वाचन सम्पन्न गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो ।
बाँके जिल्लाका प्रहरी नायब उपरीक्षक दिपक पातलीले निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनका लागि आचारसंहिताको पालना गराउने कार्यमा कटिबद्ध भएर लागेको बताउनुभयो । सुरक्षा निकायको तर्फबाट आम नागरिकलाई शान्तिको प्रत्याभूति गर्न र निर्धक्कका साथ निर्वाचन प्रक्रियामा भाग लिने वातावरण बनाउने कार्यमा गम्भीरताका साथ लागिपरेको बताउँदै निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सबै व्यक्ति स्वयं सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले वर्तमान अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका सन्दर्भ सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाका कार्यवाहक अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नियोक बाँके शाखाका पूर्व अध्यक्ष अधिवक्ता लोक बहादुर शाहले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै आम मतदातालाई मतदानमा सहभागी गराउने कार्यमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका सहभागीहरूले आम मतदातालाई निर्वाचनको विषयमा जागरूक बनाउनु आवश्यक रहेको बताउनुभएको थियो ।
सहभागीहरूले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक द्वन्द्व र अशान्ति फैलाउने गतिविधि बढेको उल्लेख गर्दै सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका थिए । सहभागीहरूले मतदान केन्द्रको बुथसम्म अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने विषय, भोट बदर कम गर्न प्रभावकारी निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने उपाय तथा सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि रणनीति अपनाउनुपर्ने बिचार राखेका थिए । कार्यक्रमका सहभागी जेनजी (युवा) प्रतिनिधिहरूले भाद्र २३ र २४ गतेको आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचार नियन्त्रण भएको स्मरण गर्दै युवाहरूको मागलाई सम्बोधन गर्नेतर्फ निर्वाचन केन्द्रित हुनुपर्ने बताएका थिए ।
गैरसरकारी संस्था महासङ्घ नेपालका लुम्बिनी प्रदेशका सहसचिव शङ्कर शर्माले सञ्चालन गर्नुभएको अन्तर पुस्ता सरोकारवाला संवाद कार्यक्रममा विभिन्न नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, युवाहरू र विभिन्न समूहका व्यक्तिहरूले बोलेका थिए ।








प्रतिक्रिया राख्नुहोस्