सात दिनमै कुरआन पाठ सम्पन्न गर्ने धर्मगुरुलाई सम्मान
बाँके। पवित्र रमजान महिनाको अवसरमा नेपालगञ्जस्थित मदिना मस्जिद मा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। रमजानमा पढिने विशेष तराविह नमाजका क्रममा सात दिनमै पवित्र कुरआन पूर्ण रूपमा पाठ गरी सुनाएको योगदानको कदर गर्दै मुस्लिम समुदायले धर्मगुरु सज्जाद अली रिज्बीलाई नगद १ लाख ६१ हजार ७ सय ८६ रुपैयाँसहित सम्मान गरेको हो।
यसैगरी मौलाना अलहाज नसरुद्दीन अन्सारीलाई ५५ हजार रुपैयाँ, मोज्जीम मुन्सरीफ राजलाई ३५ हजार रुपैयाँ र नायब इमाम सहरे आलमलाई १३ हजार रुपैयाँ प्रदान गरिएको छ। सामूहिक सहयोगबाट संकलित कुल २ लाख ६१ हजार ७८६ रुपैयाँ बुधबार राति मस्जिदमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय मुस्लिम अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। वक्ताहरूले सात दिनमै सम्पूर्ण कुरआन पाठ सम्पन्न गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गरे। उनीहरूले यस्तो धार्मिक अभ्यासले समाजमा आध्यात्मिक चेतना, अनुशासन र सद्भाव बढाउने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण गर्दै रिज्बीले आफूलाई गरिएको सम्मान सम्पूर्ण मुस्लिम समुदायप्रतिको सम्मान भएको बताए। उनले कुरआनको सन्देशअनुसार शान्ति, सहिष्णुता र भाइचाराको भावना विस्तार गर्न आग्रह गरे।
रमजान इस्लाम धर्मावलम्बीहरूका लागि आत्मशुद्धि, संयम र आध्यात्मिक उन्नतिको महिना हो। यस अवधिमा रोजा बस्ने, इबादत गर्ने र दान–पुण्यमा जोड दिइन्छ। धार्मिक विश्वासअनुसार रमजान महिनामा गरिने सुकर्मको विशेष महत्व रहने मान्यता छ।
कार्यक्रममा मौलाना अन्सारीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्न आग्रह गरे। रमजान महिनाभर मस्जिदमा इफ्तार, नमाज र धार्मिक प्रवचनका कार्यक्रम सञ्चालन हुने जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्